काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्रामका अर्बौं प्रयोगकर्ताका लागि नयाँ गोपनीयता नीति ल्याएको छ । आउँदाे जुलाई २६ देखि लागू हुनेगरी ल्याइएको गोपनीयता नीति अन्तर्गत प्रयोगकर्ताको डेटा सुरक्षाकाे विषय उठाइएकाे छ ।
यसमा मुख्यगरी दुई परिवर्तन गरिएकाे छ । अब प्रयोगकर्ताले उनीहरूको जानकारी कसरी प्राेसेसिङ हुन्छ भनेर आफैंले नियन्त्रण गर्न सक्छन् । त्यसमा आएको नयाँ सेटिङका माध्यमबाट प्रयाेगकर्ताले आफ्नो पोस्ट डिफल्ट रूपमै कसले देख्नसक्ने वा नसक्ने भन्ने कुरा नियन्त्रण गर्न सक्नेछन् ।
त्यस्तै कम्पनीले सेवाका सर्तहरू पनि अपडेट गरेको छ ।
मेटाका प्रमुख गोपनीयता अधिकृत मिचेल प्रोटीले आफ्नो ब्लग पोस्ट भनेका छन्, ‘हाम्रो प्लेटफर्म प्रयोग गरिरहेका प्रयोगकर्ताले हामीबाट के अपेक्षा गरेका छन् भन्ने कुरा प्रष्ट रूपमा व्याख्या गर्न चाहन्छौं ।’
उनले त्यसमा कम्पनीले कस्तो अवस्थामा अकाउन्ट डिसेबल गर्ने वा हटाउने भन्ने कुरा र प्रयोगकर्ताले अकाउन्ट डिलिट गरिसकेपछि के हुन्छ भन्ने कुराको विस्तृत जानकारी समावेश गर्ने जानकारी दिएका छन् ।
त्यस्तै मेटाले कस्ता थर्ड पार्टीहरूमाझ जानकारी शेयर गर्ने र लिने काम गर्छ भन्ने कुरा र डेटाहरू विभिन्न उत्पादनहरू माझ कसरी शेयर गरिन्छ भन्ने कुराको थप जानकारी उपलब्ध गराउने बताएको छ ।
मेटाका उत्पादन प्रयोग गरिरहेका प्रयोगकर्ताले गोपनीयता नीतिमा आएको अपडेटबारे प्रतिक्रिया स्वरूप केही गर्नुपर्दैन । यदि गोपनीयता नीतिमा आएका परिवर्तन प्रयोगकर्ताले स्वीकार गर्न नसकेको अवस्थामा भने उनीहरूले निर्धक्क सेवा छोडेर जानसक्ने मेटाले बताएको छ ।
मेटाले नियामकहरूबाट विस्तृत रूपमा आएका गोपनीयता कानूनका थप मागहरू सम्बोधन गर्न र नीतिमा आएको जटिलता कम गर्न प्रयास रहेको बताएको छ ।
त्यस्तै मेटाले कसरी प्रयोगकर्ताको डेटा व्यवस्थापन र सुरक्षा गर्छ भन्नेबारे नियामकहरूबाट बढ्दो छानबिनको सामना गरेको छ । गत मार्चमा कम्पनीले ईयू डेटा गोपनीयता नीति २०१८ उल्लङ्घन गरेबापत १७ मिलियन युरो (२२ अर्ब रूपैयाँभन्दा बढी) जरिवाना तिरेको थियो ।
Comments
Post a Comment
Thanks for your intrest