काठमाडौं । सुवास देवकोटाले अमेरिकामा रहेको डिटुहकाई नामक प्रविधि कम्पनीमा ८ वर्ष बिताए । अमेरिकाको स्थान व्यवस्थापन प्रणाली अर्थात एड्रेस सिस्टमबाट प्रभावित उनी पछि नेपाल फर्किए ।
स्वदेश फिर्ता भएपछि सुवासले एफवान सफ्टमा प्रमुख उत्पादन अधिकृतको रूपमा काम थाले । अमेरिकाको जस्तो व्यवस्थित एड्रेस सिस्टम उनले आफ्नै देशमा अभाव महसुस गर्न थाले ।
“नेपाल फर्केपछि देशमै केही गर्नुपर्छ भन्ने सोचेको थिएँ,” उनी भन्छन्, “अमेरिकाको एड्रेस सिस्टमबाट निकै प्रभावित भएकाले त्यस्तो सिस्टम नेपालमा पनि सुरु गरौँ भन्ने थियो ।”
अमेरिकामा हरेक ठाउँलाई छुट्टै नम्बरिङ सिस्टम उपलब्ध गराइने भएकाले त्यहाँ जुनसुकै ठाउँमा सजिलै पुग्न सकिन्छ । कुनै घर वा ठाउँको ‘स्यान्डर्ड एड्रेस’ (स्ट्रिट नम्बर) सरकारले पहिले नै तोकिदिएको हुन्छ ।
जुन वैज्ञानिक प्रणालीमा आधारित रहेको उनको बुझाई छ । त्यस्तै प्रणाली उनलाई नेपालमा पनि लागू गर्नु थियो ।
सुवास आफ्नो आकांक्षा पच्छ्याउँदै विगत एक वर्षदेखि ‘नेपाल एड्रेस’ (एप/वेबसाइट) विकास गर्न लागिपरेका छन् । हालै मात्र सम्पन्न भएको ‘नेपाल एड्रेस’ परियोजना एउटा त्यस्तो प्लेटफर्म हो, जहाँ सजिलै आफ्नो ठाउँको लोकेसन तय गर्न सकिन्छ ।
उदाहरणका लागि तपाईँले कुनै साथीलाई आफ्नो घरमा बोलाउनु पर्यो । तर, अहिले स्मार्टफोन, इन्टरनेटको जमानामा परम्परागत तरिकाले ठाउँ चिनाउन निकै झन्झटिलो लाग्छ ।
त्यसका लागि प्रयोग गरिने गुगल म्याप्समा आफ्नो ठाउँको लोकेसन पठाउने प्रक्रिया त्यति सजिलो हुन्न । यो झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउन आफूले नेपाल एड्रेसको निर्माण गरेको देवकोटा बताउँछन् ।
यसमा विशेषगरी जोकोहीले आफ्नो ठेगानाको नाम राखेर त्यसको लिङ्क चाहेको व्यक्तिलाई पठाउन सक्छ । उदाहरणका लागि मानौँ तपाईँले आफ्नो घरको निश्चित लोकेसन म्यापमा राख्नुपर्नेछ । तर गुगल म्यापमा जस्तो सबैलाई देखाउनु पनि छैन ।
तपाईँले चाहेका व्यक्तिले कुनै निश्चित नाम वा कोडकै भरमा तपाईँको निश्चित लोकेसन थाहा पाओस् भन्ने पनि छ । अब यस्तोमा के गर्ने ? हो, यही समस्या समाधान गर्ने उपायको रूपमा नेपाल एड्रेस आएको हो ।
नेपाल एड्रेस डटकममा ‘स्ल्याश’ (/) पछि तपाईँले उपलब्ध युजर नेम मध्येबाट आफ्नो लोकेसनको नामाकरण गर्न सक्नुहुन्छ । जसलाई तपाईँ नेपाल एड्रेस डटकम स्ल्याश निश्चित कोडको रूपमा कसैलाई भन्न, त्यसको लिङ्क नै शेयर गर्न वा नेपाल एड्रेस डटकममा गएर आफ्नो लोकेसनको कोड वा नाम खोजेर हेर्न लगाउन सक्नुहुन्छ ।
जसको आधारमा तपाईँले चाहेको व्यक्ति कसैलाई नसोधी सजिलै तपाईँको घरसम्म आइपुग्न सक्छ । कतिपय अवस्थामा कसैले आफ्नो घर चिनाउन चाह्यो भने यो विकल्प निकै उपयोगी हुने देवकोटाको बुझाई छ ।
नेपाल एड्रेसको एप वा वेबसाइटमा आफ्नो लोकेसन राख्नुपर्यो भने ईमेल राखेर लगइन गर्नुपर्ने हुन्छ । वेबसाइटको होमपेजमा ‘रजिस्टर एड्रेस’ खण्ड छ ।
त्यसमा ट्याप गरिसकेपछि तपाईँले फेसबुक, गुगल वा आफ्नो ईमेल राखेर अकाउन्ट बनाएर लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ एड प्राइमेरी एड्रेसको सेक्सन दिइएको छ । अलि तल रहेको म्यापमा आफ्नो लोकेसन सेट गरी युजरनेम राख्न सकिन्छ ।
अहिलेसम्म नेपाल एड्रेस डटकममा नेपालका पाँच हजारभन्दा बढी स्थान दर्ता भइसकेकाले प्रायः ठाउँको ठेगाना हेर्दा जिल्ला, स्थानीय निकाय देख्न सकिने देवकोटा बताउँछन् ।
उनी भन्छन्, “यो विशेषगरी नेपालकै लागि बनाइएको प्लेटफर्म हो । यसमा नेपालभरका ७८ जिल्ला, ७५३ स्थानीय तह र ५००० भन्दा बढी गाउँ / ठाउँ छन् । यसमा इन्टरनेट बिना एड्रेस भेटाउन मिल्ने गुगल प्लस कोड समेत समाहित गरिएको छ ।”
नेपाल एड्रेसमा अफलाइन प्रयोगका लागि एड्रेस सेभ गर्ने सुविधा पनि राखिएको उनले बताए । कुनै पनि ई-कमर्स वा बैंकले व्यवसायिक रूपमा नेपाल एड्रेसको यो सेवा प्रयोग गर्नसक्ने उनको भनाई छ ।
“उपभोक्ता र व्यवसायले नेपाल एड्रेस डटकमबाट यी सबै सुविधा निःशुल्क प्रयोग गर्न सक्छन्,” उनी भन्छन्, “व्यवसायीहरूले न्यूनतम शुल्कमा नेपाल एड्रेसलाई एपीआई मार्फत आफ्नो एप वा सिस्टममा इन्ट्रिगेट गरेर आफ्नो सेवालाई प्रभावकारी बनाउन सक्छन् ।”
बैंकलाई कुनै पनि ग्राहकको केवाईसी भर्न लगाउँदा नेपाल एड्रेस डटकमको सुविधा उपयुक्त हुने देवकोटाको दाबी छ । “एड्रेस सिस्टम हरेक नागरिकको आधारभूत अधिकार पनि हो,” उनी अगाडि भन्छन्, “आगामी आर्थिक वर्षसम्म नेपाल एड्रेसमा एक लाखभन्दा बढी एड्रेस दर्ता गर्ने हाम्रो उद्देश्य छ ।” भविष्यमा यसैलाई परिमार्जित गर्दै म्यापिङको क्षेत्रमा नयाँ आयाम ल्याउने सपना देवकोटाले सँगालेका छन् ।
;; साभार (टेक्पाना }
Comments
Post a Comment
Thanks for your intrest